नियम १४१
औषधी उपचार खर्च
:(१) प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राङ्कित श्रेणीको प्रहरी अधिकृत भए बाह्र महिना बराबरको, राजपत्रअनङ्कित प्रथम श्रेणीको प्रहरी कर्मचारी भए अठार महिना बराबरको र अन्य राजपत्र अनङ्कित र श्रेणीविहिन प्रहरी कर्मचारी भए एक्काइस महिना बराबरको खाईपाई आएको तलब रकम सम्म उपचार खर्च वापत पाउनेछ ।
(२) कुनै प्रहरी कर्मचारी वा निजको परिवारको सदस्य विरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नवढ्ने गरी देहाय बमोजिम भएको खर्चको रकम दिईनेछ :–
(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेका औषधी खर्च,
(ख) स्वास्थ्य संघ संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च,
(ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारमा सम्बन्धित कार्यालयको प्रमुखले, कार्यालय प्रमुखको हकमा तालुक कार्यालयको प्रमुखले र प्रहरी महानिरीक्षकको हकमा मन्त्रालयको सचिवले सिफारिस गरेको खर्च,
(घ) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अप्रेशन) गर्दा लागेको बिल बमोजिमको खर्च,
(ङ) चश्मा, दाँत, हेरिङ्एड आदि उपकरणको लागि नेपाल सरकारले समय समयमा आदेश जारी गरी तोकिदिएको हदसम्मको रकममा लागेको बिल बमोजिमको खर्च,
(च) आफ्नो घर वा डेरा छाडी अर्को जिल्लामा वा विदेशमा गई औषधी उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दा र फर्कदाको विरामीको र कुरुवा चाहिने अवस्था भए एक जना कुरुवा सम्मको यातायात खर्चको पुरै रकम र खाना खर्च वापत निज बिरामी प्रहरी कर्मचारीले नियमअनुसार पाउने दैनिक भत्ताको पचत्तहर प्रतिशत रकम ।
स्पष्टीकरण ः यस उपनियमको प्रयोजनको लागि “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा रहेको वा प्रचलित कानूनबमोजिम चिकित्सकका रुपमा दर्ता भएका डाक्टर, कविराज, हेल्थ असिष्टेण्ट वैद्य समेतलाई जनाउँछ ।
(३) सरकारी कामको सिलसिलामा खटिँदा चोटपटक लाग्न गई त्यस्तो चोटपटकको नेपालभित्र औषधी उपचार हुन नसक्ने भनि नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरको प्रहरी कर्मचारीले विदेशमा गई उपचार गराउन चाहेमा निजलाई नेपाल सरकारले उचित ठह¥याएको थप आर्थिक सहायता दिन सक्नेछ ।
(४) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै प्रहरी कर्मचारीले पेश्कीको रुपमा लिन चाहेमा र सोको कारण मनासिब देखिए यस नियमको अधीनमा रही पछि हिसाब बुझाउने गरी पेश्की रकम दिन सकिनेछ । त्यसरी पेश्की दिएको रकमको हिसाब गर्दा उपचारबापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएजति रकम सम्बन्धित प्रहरी कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ ।
त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तान नहुदै सम्बन्धित प्रहरी कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा सो कट्टी गर्न बाँकी रहेको रकम मिन्हा हुनेछ ।
(५) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य अवस्थामा सेवाबाट अलग हुने प्रहरी कर्मचारीले यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी भएको भए त्यस्तो बाँकी रकम एकमुष्ठ लिन पाउनेछ ।
(६) निवृत्तिभरण पाउने गरी सेवाबाट अवकास पाएको प्रहरी कर्मचारीले उपनियम (५) बमोजिमको रकम र पच्चीस वर्ष सेवा अवधि पुरा गरेको रहेछ भने उपनियम (१) बमोजिम पाउने उपचार खर्चमा थप दश प्रतिशत रकम निजले नोकरीबाट अलग हुँदा एकमुष्ट लिन पाउनेछ ।
(७) कुनै प्रहरी कर्मचारी दश वर्षको सेवा अवधि नपुग्दै भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरिएकोमा बाहेक अरु जुनसुकै व्यहोराबाट सेवाबाट अलग भएमा पनि दश वर्षको सेवा अवधि मानी त्यसको दामासाहीले यस नियम बमोजिमको उपचार खर्च दिइनेछ ।
(८) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक प्रहरी कर्मचारीलाई एक वर्षमा निजले खाइपाई आएको डेढ महिनाको तलब बराबरको रकम भन्दा बढी उपचार खर्च दिइने छैन ।
(९) यस नियम बमोजिम प्रहरी कर्मचारीले पाएको उपचार खर्चको विवरण खर्च लेख्ने कार्यालयले प्रहरी कर्मचारीको व्यक्तिगत अभिलेख राखी प्रहरी किताबखानामा समेत पठाउनु पर्नेछ ।
(१०) दुर्गम क्षेत्रमा रहेका प्रहरी कर्मचारी वा निजको परिवारलाई रोग लागी स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार हुन नसकी ज्यान समेत जोखिम हुने अवस्था परेको कुरा जिल्ला स्वास्थ्य केन्द्रले सिफारिस गरेमा उपचारको सुविधा भएको ठाउँमा लैजाँदा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ ।
(११) प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु वा नावालक छोरा छोरी बिरामीले यस नियमावली बमोजिम पाउने अधिकतम उपचार खर्चको रकमबाट कट्टा हुने गरी सो रकमको आधारसम्म बिल बमोजिमको भएको उपचार खर्चको नब्बे प्रतिशत रकम सम्बन्धित कर्मचारीले लिन पाउनेछ । त्यस्तो उपचार खर्चको माग गर्दा रोगको निदान उल्लेख गरिएकोे चिकित्सकको प्रेसक्रिप्शन
पनि पेश गर्नुपर्नेछ । यस उपनियम बमोजिम पाउने उपचार खर्च एक पटकमा सम्बन्धित प्रहरी कर्मचारीको एक महिनाको तलबभन्दा बढी हुने छैन ।
(१२) कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु, वा नाबालक छोरा, छोरी बिरामी भई विदेशमा गई उपचार गराउनु पर्दा वा स्वदेशमै अस्पताल भर्ना भई शल्यक्रिया वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्शन वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्शन बमोजिम लागेको औषधी उपचारको खर्चको नब्बे प्रतिशत रकम उपनियम (२) बमोजिम प्रहरी कर्मचारीले पाउने रकममध्येबाट पाउनेछ ।
(१३) उपनियम (११) र (१२) मा जुनसुकै केरा लेखिएको भए तापनि प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु वा कुनै सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रणमा भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो उपचार खर्च पाउने छैन ।
(१४) झुट्टा व्यहोरा पेस गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने प्रहरी कर्मचारी लगायत त्यस्तो झुट्टा व्यहोरा प्रमाणित गर्ने स्वीकृत चिकित्सक (कर्मचारी भए) लाई विभागीय कारबाही हुनेछ ।